भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा

११ कार्तिक, स्वच्छखबर,काठमाडौँ । भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आइतबार भएको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो ।
यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । भारतका लागि सङ्गीता बस्फोरेले गोल गरिन् ।
खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले लगत्तै गोल फर्काए पनि रेफ्रीले त्यसलाई मान्यता नदिएपछि खेल एक घण्टाभन्दा धेरै समयसम्म रोकिएको थियो ।
त्यसपछि रेफ्री, म्याच कमिस्नर लगायतले छलफल गरेपछि खेल शुरू भएको हो । यसअघि खेलको ५० औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाउँदै बाहिरिएपछि पनि खेल केहीबेर रोकिएको थियो ।
अब नेपालले उपाधिका लागि बुधवार बङ्गलादेशसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोलले हराउँदै साविक विजेता बङ्गलादेश फाइनलमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्: