गरिब, असहाय तथा निमुखा जनतालाई प्राथकितामा राखेर सेवा उपलब्ध गराउन राष्ट्रपति पौडेलको अनुरोध

१० आश्विन २०८१

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताएका छन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गरिब तथा असहाय वर्गलाई प्राथकितामा राखेर सेवा उपलब्ध गराउन अस्पताल तथा स्वास्थ्यकर्मीसँग अनुरोध गरे ।

आवश्यक पूर्वाधार र अत्याधुनिक प्रविधिसँगै चितवन स्वास्थ्य सेवाको केन्द्र (हब)का रुपमा विकास हुन लागेकामा खुसी व्यक्त गर्दै उनले अब उपचारका लागि यसअघिजस्तो राजधानी काठमाडौँ नै धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे ।क्यान्सर रोगबाट ग्रसित प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले विदेशमा गएर उपचार गर्नुपरेकाले स्वदेशमै यससम्बन्धी रोगको उपचार गर्ने सुविधा सम्पन्न क्यान्सर अस्पतालको परिकल्पना गर्नुभएको स्मरण गर्दै उनले २०४९ सालमा तत्कालीन सरकारले लिएको विकेन्द्रीकरणको नीतिलाई कार्यान्वयन गर्ने एक उत्कृष्ट उदाहरणका रुपमा यो अस्पताल निर्माण भएको बताए ।

राष्ट्रपति पौडेलले भरतपुरस्तिथ राष्ट्रियस्तरको अस्पताल क्यान्सर रोगका बिरामीको सेवामा मात्र सीमित नभई अध्ययन, अनुसन्धान र प्रशिक्षणका क्षेत्रमा पनि अगाडि बढेकामा खुसी व्यक्त गर्दै क्यान्सरको उपचारमा नयाँ प्रविधि भित्र्याएर विशिष्टता अभिवृद्धि हासिल गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।

चीन सरकारको सहयोगमा निर्माण भएको अस्पताल २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका हुन् । महामानव बिपी कोइरालाको स्मृतिमा २०४८ सालमा तत्कालीन प्रधानमन्त्री जिरिजाप्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री ली फङबीच सम्झौता भई यो अस्पताल स्थापना भएको हो । स्थापनाकालमा १०० शय्या क्षमतासहितको क्यान्सर अस्पताल अहिले ५०० शय्यामा विस्तार भएको छ ।

सो अस्पतालले गत आव २०८०/८१ मा छ हजार ७९५ क्यान्सरका बिरामीसहित एक लाख ८८ हजार ५१४ जनाको उपचार गरेको जनाएको छ ।