कीर्तिमानी आरोही हरिलाले गरिन् हिमाल आरोहणबाट सन्न्यासको घोषणा,नेपाल आइरहने वाचा

२० श्रावण २०८०

२० श्रावण, स्वच्छखबर, काठमाडौं । कीर्तिमानी आरोही नर्वेकी क्रिस्टिन हरिला (३७ वर्षे) ले प्रशंसक र सञ्चारकर्मीलाई साक्षी राख्दै शनिबार ‘सन्न्यास’को घोषणा गरिन् । पाकिस्तानमा रहेको ‘माउण्ट केटु’को सफल आरोहणसँगै नेपाली भूमिमा सन्न्यास लिन उनका लागि सायद उपयुक्त समय पनि थियो ।

गत साता विश्वको दोस्रो अग्लो हिमाल माउण्ट केटुको आरोहणसँगै हरिला र शेर्पा गाइड तेन्जिन शेर्पाले कम समयमा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको कीर्तिमान कायम गरेकी थिइन् । यसअघि यो कीर्तिमान निर्मल पूर्जाका नाममा थियो । पूर्जाले सन् २०१९ मा छ महिना छ दिनमा उक्त कीर्तिमान कायम गरेका थिए ।

सन्न्यास घोषणाका क्रममा हरिलाको बोलीमा नेपाल र नेपालीप्रतिको सम्मान र माया प्रष्ट झल्कन्थ्यो । शनिबार विहान पाकिस्तानबाट कतार एयरलाइन्सको विमानमार्फत काठमाडौँ ओलिएकी हरिला र शेर्पालगायत आरोहीलाई प्रंशसकहरुले भव्य स्वागत गरेका थिए । उनीहरुलाई बाजासहित विमानस्थलबाट चावहिल र लैनचौर हुँदै भृकुटिमण्डपसम्म नगरपरिक्रमा गराइएको थियो ।

आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरी कीर्तिमान कायम गर्ने उनको अभियान गत अप्रिलमा चीनको सिसापाङ्गमा हिमाल आरोहणसँगै सुरु भएको थियो । उक्त लक्ष्य ९२औँ दिनमा माउण्ट केटुको आरोहणसँगै पूरा भएको छ ।

हरिला र शेर्पाले प्राप्त गरेको सफलता पहिलो प्रयासमै प्राप्त भएको भने होइन । सन् २०२२ को अप्रिलमा पहिलो पटक कीर्तिमानका लागि प्रयास गरेपनि कोरोना भाइरसको महामारीलगायतले सफल हुन सकेको थिएन । पहिलो प्रयासमा १४ मध्ये १२ हिमाल मात्रै आरोहण गरेकी थिइन् । हरिलाको हिमाल आरोहणको यात्रा सन् २०१५ देखि सुरु भएको थियो ।

हरिला र शेर्पाको यो कीर्तिमानी आरोहणका पछाडि मुख्य भूमिका भने ‘सेभेन समिट ट्रेक्स’ले गरेको थियो । पर्वतारोहणमा अग्रणी यस कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले विश्वमा नेपालको पर्वतीय पर्यटनको प्रबद्र्धनमा शेर्पा समुदायको विशेष योगदान रहेको चर्चा गर्दै सरकारले पनि विशेष सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

सम्मान ग्रहण गर्दै उनले आफ्नो सफलतामा साथ र हौसला दिने नेपाली सहहृदयी नागरिकप्रति विशेष धन्यवाद समेत दिइन् । उनले नेपाल र हिमालप्रतिको माया निकै रहेको भन्दै आगामी दिनमा विभिन्न सामाजिक काममा क्रियाशील हुने बताइन् ।

क्रिस्टिनसँगै कीर्तिमानी नेपाली आरोही तेन्जिन (लामा) शेर्पाले नेपालको गौरव बढाउनसकेकोमा आफू कृतज्ञ भएको बताए । क्रिष्टिन र तेन्जिनले सेभेन समिट ट्रेक्स कम्पनीमार्फत आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण तीन महिनामा पूरा गरेका हुन् ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, सिसपाङ्गमा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गरेका हुन् ।
आजको सम्मान कार्यक्रममा १७ वर्षको उमेरमा सगरमाथा र केटु हिमाल आरोहण गरी कान्छो आरोहीको कीर्तिमान बनाउने निमा रिन्जी शेर्पालाई पसिन पदक र कदरपत्र प्रदान गरिएको थियो । साथै सो अवसरमा केटु हिमाल आरोहण गर्ने एकै परिवारका चार आरोहीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा पर्यटन विभागका निर्देशक राकेश गुरुङले मुलुकको पर्वतीय पर्यटनको विकासका लागि सबै सरोकारवाला साझेदारिताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले पर्वतीय पर्यटनलगायत पर्यटनका विधामा दिगो पर्यटन प्रवर्द्धनका लागि विभागले सहकार्य गर्ने बताए ।

नेपाल पर्वतरोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले नेपालको सान र गौरव बढाउन आरोहीको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।

सङ्घका पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पाले आरोहीको कीर्तिमानले विश्वभर नेपालको पर्यवतीय पर्यटन प्रबर्द्धनमा मद्दत पुगेको बताए । सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले पर्यटन क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिए । साथै मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले पर्यटन क्षेत्रको विकासका लागि सङ्घीय सरकारले लगानी बढाउन माग गरे ।