चिकित्सक सङ्गठनद्वरा सरकारको संशोधित चिकित्सा सुधार योजना अस्वीकार

९ बैशाख २०८१

९ चैत्र, स्वच्छखबर, काठमाडौं । दक्षिण कोरियाको अग्रणी चिकित्सक सङ्गठनले शनिबार सरकारको संशोधित चिकित्सा सुधार योजना अस्वीकार गरेको छ । अर्को वर्षदेखि मेडिकल कलेजहरूमा वार्षिक भर्ना सङ्ख्या दुई हजारले बढाउने योजनाको प्रतिक्रियामा हजारौं प्रशिक्षार्थी चिकित्सकहरूको जारी आन्दोलनले दक्षिण कोरियाली अस्पतालहरूमा अराजकता निम्त्याएको छ ।

सरकारले शुक्रबार ३२ वटा विश्वविद्यालयलाई सुरुमा प्रस्तावित दुई हजारको साटो एक हजार भन्दा कम मेडिकल विद्यार्थी भर्ना गर्न अनुमति दिएको छ तर कोरियाली मेडिकल सङ्गठन (केएमए) ले भने यो योजना एक साताभित्र पूर्णरुपमा त्याग्नुपर्ने बताएको छ ।

केएमएका प्रवक्ता किम सुङ–ग्युनले भने, “यो आधारभूत समाधान नभएकाले कोरियाली मेडिकल सङ्गठनको आपतकालीन समितिले यसलाई स्वीकार्न नसक्ने स्पष्ट देखाएको छ ।”

उनले भने, “हाम्रो देशको भविष्य र हाल पीडित बिरामीहरूको स्वास्थ्यको रक्षाको लागि सुरूबाट यस बिषयमा छलफल गर्न हामी राष्ट्रपतिलाई आग्रह गर्नेछौँ ।” किमले समस्याको समाधान खोज्न ‘एक हप्ता बाँकी रहेको’ बताए ।

सरकारले आफ्नो योजनाले वृद्ध समाजका लागि चिकित्सकको अभाव कम गर्ने दाबी गरेको छ । चिकित्सा व्यवसायी र प्रशिक्षार्थीहरूले यसले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर घटाउने बताएका छन् ।

फेब्रुअरी २० देखि सुरु भएको हडतालका कारण अस्पतालहरूले अत्यावश्यक उपचार र शल्यक्रियाहरू रद्द गर्न बाध्य भएका छन् ।