पेरिस ओलम्पिकको सुरक्षा चुनौतीका लागि फ्रान्सद्वारा विदेशी प्रहरी र सेनाको सहयोग माग

१८ चैत्र २०८०

चैत्र १८, स्वच्छखबर, काठमाडौं । पेरिस ओलम्पिकका लागि सम्भावित आक्रमणविरुद्ध उच्च सतर्कतामा रहेको आयोजक फ्रान्सले शताब्दीमा राजधानी पेरिसमा हुने पहिलो खेलहरूका लागि सुरक्षा योजनालाई अन्तिम रूप दिँदैछ ।

यसै सिलसिलामा फ्रान्सले गृष्मकालीन पेरिस ओलम्पिकको सुरक्षाका लागि दुई हजारभन्दा बढी प्रहरी अधिकारीलाई पठाउन सक्ने हो कि होइन भनी ४६ मुलुकलाई सोधेको बताएको छ । प्रतियोगिता जुलाई २६ देखि अगस्ट १५ सम्म हुँदैछ । गृह मन्त्रालयले विदेशी सुरक्षा सहायताका लागि जनवरीमा अनुरोध गरिएको बताएको छ ।

यसमा करिब दुई हजार एक सय ८५ सुदृढीकरणको माग गरिएको थियो । मन्त्रालयका अनुसार अधिकारीहरूसँग खेलहरूको सुरक्षा, ‘दर्शकहरूको अनुभव’ र ‘अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउन’ सहयोग मागिएको हो ।

सेनाका जनरल स्टाफका प्रवक्ता कर्णेल पियरे गौडिलियेरले फ्रान्सेली रक्षा मन्त्रालयले खोजी कुकुरहरूको टिमसहित खेलहरूमा ‘अत्यन्त विशिष्ट’ कार्यमा सहयोग पुग्न सकोस् भनेर विदेशी मुलुकहरूबाट सैन्यकर्मीहरूको माग गरेको बताए । पोल्यान्डका रक्षामन्त्रीले आफ्नो मुलुकले पेरिस खेलकुदमा सैनिक पठाउने बताएका छन् ।