कोशी र मधेश प्रदेश सकिँदा ९० जना सडक मानवको उद्धार,पुरुषको सङख्या झण्डै दोब्बर
६ कार्तिक स्वच्छखबर,काठमाडौँ । ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’ का अभियान्ताहरुले यात्राको नवौं दिनसम्म आईपुग्दा ९० जनाको उद्धार गरेका छन् ।
हालसम्म कोशी प्रदेशबाट उद्धार हुनेको सङख्या ४६ रहेको छ भने मधेश प्रदेशबाट ४४ जनाको उद्धार भएको छ । यस्तै, उद्धार भएका मध्ये २ जनाको पारिवारीक पुर्नमिलन समेत गरिएको छ । कोशी प्रदेश र मधेश प्रदेशको सडक यात्राबाट दशैंको रमझमको बिच २६ जना महिला, ६२ जना पुरुष र २ जना बालिका सहित ९० जना आश्रयविहिन भई कष्टकर जिवन बिताइरहेकाहरुलाई खाना नाना र छानाको प्रबन्ध मिलाउन अभियान्ताहरु सफल भएका छन् ।
यस्तै, कोशी प्रदेशबाट उद्धार भएका सहयोगापेक्षीलाई मानवसेवा आश्रमको विराटनगर शाखा र मधेश प्रदेशबाट उद्धार भएकालाई जनकपुर र विरगञ्जको शाखामा राखिएको छ ।
कोशी प्रदेशको मेची पुलबाट असोज २६ गतेदेखि उद्धार यात्रा शुरु गरेका अभियान्ताहरुले यात्राको नवौ दिन बिरगञ्ज र बाराबाट मधेश प्रदेशको यात्रा समेत समापन गरेका छन् ।
पाँच दिनसम्म मधेशमा उद्धार यात्रा गरेका अभियान्ताहरुले मधेश प्रदेशको सिराह, धनुषा, महोत्तरी,रौतहट, सर्लाही, विरगञ्ज र बारा लगायतका जिल्लामा सडक यात्रा गरेका थिए ।
हालसम्म कोशी र मधेश प्रदेशभर उद्धार भएको महिला भन्दा पुरुष सहयोगापेक्षीको सङख्या झण्डै दोब्बर रहेको छ । यससँगै नवौं दिनको उद्धार यात्रामा मधेस प्रदेशको यात्रा टुङगाएका यात्रीहरुले १० औ दिनको उद्धार कार्य बागमती प्रदेशको हेटौडाबाट गर्नेछन् भने उद्धार यात्रा मंसिर ४ गतेसम्म जारी रहने छ ।
प्रतिक्रिया दिनुहोस्: