सामाजिक सद्भाव कायम राख्न नेपाली कांग्रेसको अपिल

९ भाद्र २०८०

९ भाद्र, स्वच्छखबर, काठमाडौँ । केही दिनयता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषयप्रति सत्तारुढ दल नेपाली कांग्रेसले चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक र राजनीतिक सद्भाव कायम राख्न सार्वजनिक अपिल गरेको छ ।

‘परापूर्वकालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको मात्रै होइनौँ, राष्ट्र निर्माण र विकासका लागि हातेमाले गर्दै आएका छौँ,’ कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको अपिलमा भनिएको छ, ‘नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ(आफ्नो धर्म(संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्नु हुँदैन । साथै कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्‍याउन पनि उचित हुँदैन ।’

नेपालीको भावना र चाहनाविपरीत धार्मिक तथा सांस्कृतिक सद्भाव भड्काउने गतिविधि कसैका लागि पनि हितकारी नहुने नेपाली कांग्रेसको ठहर छ । सामाजिक सद्भाव भड्किँदा निम्तिन सक्ने परिस्थितिको बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय तथा सम्प्रदायलाई सचेत हुन पनि कांग्रेसले आग्रह गरेको छ ।

अहिले देखिएको धार्मिक अस्थिरताको संवेदनशीलतालाई मध्यनजर गरी सबै राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघसंस्था एवं समाजका अग्रज व्यक्ति एक ठाउँमा उभिएर सामाजिक सद्भाव कायम गर्ने कार्यमा जुट्नसमेत कांग्रेसले अपिल गरेको छ ।