बर्दिवासका पाँच वटा स्वास्थ्य संस्था तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

१७ फाल्गुन २०८१

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवासमा रहेका अस्पताल र स्वास्थ्य संस्थाको अनुगमन गर्दै अनुमति नलिई सञ्चालित सबैलाई तत्काल बन्द गर्न निर्देशन दिएका छन् । शुक्रबार साँझ प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारीसहित बर्दिवासका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक अनुगमन गर्दै उनले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका अस्पताल र स्वास्थ्य संस्था तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।

बर्दिवासका आठ वटा निजी अस्पताल र स्वास्थ्य संस्थामा उनले छड्के अनुगमन गरेका थिए । त्यसक्रममा कानुनी प्रक्रिया पूरा नगरेका पाँच वटा संस्थालाई तत्काल बन्द गर्न उनले पत्रमार्फत निर्देशन दिएका छन् ।

सुरक्षा अर्थोपेडिक एण्ड डेण्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, ॐ समाज डेण्टल हस्पिटल, खोमसुरा डेण्टल क्लिनिक र पिनाकल अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।