लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न प्रधानमन्त्री ओलीको आग्रह

१४ माघ २०८१

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार भएको बताएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रको पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताए ।

प्रधानमन्त्री ओलीले पूर्वसहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गरे । उनले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए चाँडै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित सङ्ख्या भएकाहरूको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरूको भ्रमबाट मुक्त हुन पनि आग्रह गर  । उनले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।