मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँँ : स्वास्थ्यमन्त्री

सर्लाही । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सर्लाहीको ईश्वरपुरमा मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार ईश्वरपुर नगरपालिका–९ मा निर्माण भएको भरतपुर आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उनले भने,‘‘मृगौला रोगको उपचारका लागि डाइलासिस सेन्टर बनाउनुपर्छ भन्ने सुने । त्यसका लागि आवश्यक उपकरणको व्यवस्था र विपन्न उपचारको सूचिमा सूचीकृत गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।”
उनले भौतिक पूर्वाधारको व्यवस्थापन भइसकेपछि डाइलासिसका लागि आवश्यक तीन सेट मेसिन उपलब्ध गराउनबारे आफू सकारात्मक रहेको बताए ।
यसैगरी यस क्षेत्रका लागि आवश्यक रक्त सङ्कलन केन्द्र सञ्चालनका लागि कुनै संस्थासँग समन्वय गर्ने र त्यसो हुन नसके मन्त्रालयसँगको सहकार्यमा सो केन्द्र सञ्चालन गर्न सकिने मन्त्री पौडेलको भनाइ थियो ।
उनले पाठेघरको समस्या समाधानका लागि रोग लाग्नै नदिने गरी सचेत हुनुपर्ने र लागिहालेमा सहज उपचारका लागि सरकारले सहयोग गर्ने बताए । मन्त्री पौडेलले हाल सञ्चालनमा रहेको एक लाखको स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित नरहेकाले यसलाई पाँच लाख पुर्याउने तयारी भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: