वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको छ : महामन्त्री थापा

बाँके । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।
पेसागत तथा बुद्धिजीवी विभाग नेपाली काँग्रेस र नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनद्वारा शनिबार आयोजित ‘संविधान संशोधन: आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रियामा उनले नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धन सरकार संविधान कार्यान्वयनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन केन्द्रित रहेको धारणा राखे ।
उनले संविधान घोषणासँगै कतिपय नीति, नियमका कारण कार्यसम्पादनका क्रममा असहजता भएको भन्दै सहमति र सहकार्यका आधारमा समयसापेक्ष रूपमा संविधान संशोधन हुने बताए । संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, संघीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्नेमा उनले जोड दिए ।
थापाले भने, ‘काँग्रेस र एमाले गठबन्धनबाट बनेको सरकारले पहिलो प्राथमिकतामा संविधान कार्यान्वयनलाई राखेको छ । यससँग जोडिएका कानुनहरू बनाउनुपर्ने अहिलेको आवश्यकता हो, ती कानुन एकदमै छिटो बनाउनुपर्नेछ, कतिपय कानुनहरू खारेज गर्नुपर्ने हुन्छ., कतिपय कानुन हाम्रो संविधानसँग बाँझिएका छन् । ती सबै विषय सहमतिका आधारमा समाधान हुँदै जानेछन् ।’
काँग्रेसको नेतृत्वमा शान्ति प्रक्रिया टुंगोमा पुगेसँगै संविधान बनेको र कार्यान्वयन पनि भएकाले संविधान संशोधनमा पनि काँग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको भन्दै महामन्त्री थापाले संविधान संशोधन गर्ने क्रममा सबै दललाई समेटेर अगाडि बढ्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्: