नेपाली विद्यार्थीको सुरक्षाको वातावरण बनाउन नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी केआईआईटी कलेजमा

६ फाल्गुन २०८१

काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटनाकाबारेमा बुझ्न नेपाल प्रहरीको टोली पुगेको छ ।

घटनालाई लिएर विश्वविद्यालयमा असुरक्षामा रहेका अन्य नेपाली विद्यार्थीको अवस्था बुझ्ने काम भारतमा रहेको नेपाली दूतावासमार्फत भइसकेको परराष्ट्रमन्त्री आरजु राणाले जानकारी दिएकी छन् ।

उनले भनेकी छन्, ‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ । मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु।’