पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार निर्माण गर्न सांसदहरुको माग

२४ माघ २०८१

काठमाडौं ।  राष्ट्रियसभाका सांसदहरूले ताप्लेजुङको पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकको शूल्य समयमा सांसद सुरेशकुमार आले मगरले पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृतिबिना केबलकार स्थापना गर्न थालिएको भन्दै आपत्ति जनाए ।

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणलाई लिएर उत्पन्न विवादमा सरकारी वार्ता टोली र स्थानीय सङ्घर्ष समितिबीच मङ्गलबार ६ बुँदे सहमति भएको छ ।

यो सहमतिसँगै गत माघ १५ देखि कोशी प्रदेशका ९ जिल्लामा जारी यातायात बन्द स्थगन गरिएको छ । हाललाई केबलकार स्टेसन निर्माण कार्य स्थगन गरी आगामी वार्तामा विस्तृत छलफल गर्न सरकारी पक्ष तयार भएको छ ।

सांसद सोनाम गेल्जेङ शेर्पाले सोलुखुम्बुको उत्तरी क्षेत्रमा रहेको नाम्चे बजारस्थित सीमा प्रशासन शाखा कार्यालय प्रमुख र कर्मचारीविहीन हुँदा जनतालाई सास्ती भइरहेको भन्दै तत्काल कर्मचारीको व्यवस्था गर्नुपर्ने माग गरे ।