रवि लामिछानेको मुद्दामा जवाफी बहस सम्पन्न, आजै आदेशको अपेक्षा

१३ माघ २०८१

१३ माघ, स्वच्छ खबर,काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस पूरा भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसहितको मुद्दामा सरकारी पक्ष, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिएसँगै जवाफी बहस प्रारम्भ भएको हो।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा यो बहस सम्पन्न भएको हो। जवाफी बहसपछि अदालतले अब निर्णय गर्ने प्रक्रिया सुरु गर्नेछ। स्रोतका अनुसार आदेश आजै जारी हुने सम्भावना छ।

न्यायाधीश योगीको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने, वा सामान्य तारेखमा छुटाउनको बारेमा आदेश दिने अपेक्षा गरिएको छ।

यसअघि, लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ र काठमाडौंको कालिमाटी स्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।