देशलाई आवश्यक पर्ने ऐनकानुन अध्यादेशमार्फत जारी गरिएको हो:सञ्चारमन्त्री गुरुङ

१२ माघ २०८१

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् ।

दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान आधारभूत विद्यालयको शनिबार आयोजित स्वर्णजयन्ती समारोहमा उनले देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको बताए ।

देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार नै कायम रहने उनले बताए ।

सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने भनिए पनि गाउँका जनताले त्यो अधिकार उपभोग गर्न नपाएका र उनीहरूले महसुस गर्नेगरी सरकार काममा लागेको बताए ।

अर्थतन्त्र सुदृढ पार्न, लगानी भित्राउनेलगायत अधिवेशन नभएको अवस्थामा देशलाई आवश्यक पर्ने ऐनकानुन अध्यादेशमार्फत जारी गरिएको उनले स्पष्ट पारे ।

संसदमा धेरै विधेयक विचाराधीन रहेको अवस्थामा अत्यावश्यक ती ऐन ससंद्बाट तत्काल पारित नहुने भएकाले अध्यादेशको बाटो अगाल्नुको विकल्प नरहेको उनको कथन थियो ।