सबै समुदायलाई स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित र समृद्ध तुल्याउने मौका मिलेको छः उपप्रधानमन्त्री सिंह

१५ पुष २०८१

काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा लोकतन्त्र प्राप्तिपछि विभिन्न जातजाति र समुदायले आआफ्ना संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त भएको बताएका छन् ।

तमु ल्होसार मुल आयोजक समितिद्वारा सोमबार टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्वसको उद्घाटन गर्दै उनले बहुजाति र बहुभाषी नेपाली समाजमा प्रजातान्त्रिक व्यवस्था प्राप्तिसँगै स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित र समृद्ध तुल्याउने मौका मिलेको बताए ।

ठूलो त्याग र बलिदानबाट प्राप्त अधिकारलाई सुरक्षित र सम्वद्र्धन गर्न समाजका सबै पक्षले अरूलाई अप्ठ्यारो नपर्ने ढङ्गबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले महोत्सवले तमू समुदायको कला, संस्कृति, पहिचान कायम राख्न अत्यन्तै जागरूक हुनुहुन्छ भन्ने स्पष्ट पारेको धारणा राखे ।

नेपालमा पछिल्लो जनगणनाअनुसार गुरूङ समुदायको जनसङ्ख्या पाँच लाख ४५ हजार सात सय ९१ रहेको छ । आदिवासी जनजाति समुदायका रूपमा रहेको गुरूङ समुदाय जल, जङ्गल र जडिबुटीसँग संरक्षण र सामिप्यमा रहने विश्वासिलो र सहासिक जातिका रूपमा विश्वभर पहिचान स्थापित छ ।