दक्षिण कोरियामा विमान दुर्घटनामा परी कम्तीमा १५१ जनाको मृत्यु
बीबीसी । दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा जहाज दुर्घटना हुँदा कम्तीमा १५१ जनाको ज्यान गएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ।
जेजु एअरको बोइङ ७३७ विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। मृतकमध्ये ७१ जना महिला र ७१ जना पुरुष रहेका छन् भने अन्य शवको हालसम्म लिङ्ग पहिचान गर्न सकिएको छैन।
त्यो विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन्।देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो।
न्याश्नल फायर एजेन्सीले अधिकांश यात्रुले ज्यान गुमाएको हुन सक्ने बताएको छ। अधिकारीहरूले त्यहाँ अग्नि नियन्त्रक, प्रहरी र उद्धारकर्ताहरू गरी हाल १ हजार ५ सय जनाभन्दा बढी मानिसहरू खटिएको जनाएका छन्।
त्यसअघि विमानस्थलका एक अधिकारीले विमानको पछिल्लो भागबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको जनाएका छन्।दुर्घटनास्थलमा दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति छे साङ(मुक पनि पुगेको राष्ट्रपतीय कार्यालयले जनाएको छ।
उनले जनशक्ति, स्वास्थ्य सेवा र उपकरण उपलब्ध गराएर उद्धार प्रयासलाई सहयोग गर्न निर्देशन दिएको उनको कार्यालयले जनाएको छ। सरकारले शोकसन्तप्त परिवारलाई सकेको सहयोग दिने जनाएको छ।
जारी राजनीतिक सङ्कटमाझ यसअघिका कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लागेपछि उनी शुक्रवार मात्रै कार्यवाहक राष्ट्रपति घोषित भएका थिए। सो विमानमा १७३ जना दक्षिण कोरियाका नागरिक र दुई जना थाई नागरिकहरू रहेका योन्हापले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन तर स्थानीय सञ्चारमाध्यमहरूले विमानको प्रणालीमा चराले क्षति पुर्याउँदा यस्तो भएको हुनसक्ने विवरणहरू सार्वजनिक गरिरहेका छन्।
तस्बिरहरूमा विमानको तल्लो भाग घिस्रिएको र त्यसले एउटा पर्खालमा ठक्कर दिएपछि पड्किएको देख्न सकिन्छ। चराहरूले अवतरण गराउने ुल्यान्डिङ गियरुमा समस्या निम्त्याएको हुन सक्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्: