प्रधानमन्त्री ओलीलाई बेइजिङमा उपमन्त्री सुन बेइदोङद्वारा स्वागत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार सोमबार साँझ ६ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पुगेको हो ।
विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेको थियो ।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय वार्ता गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष झाओ लेजीले भेट गर्ने पनि कार्यतालिका छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रम तथा बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मंसिर २० गते स्वदेश फर्कनेछन्।
प्रतिक्रिया दिनुहोस्: