‘पूर्णबहादुरको सारङ्गी’ ले १४ दिनमा कमायो २७ करोड,सर्वाधिक कमाउने चलचित्र बन्न सफल
२९ कार्तिक , स्वच्छखबर,काठमाडौं । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा रु २७ करोड सङ्कलन गरेको जानकारी दिए ।
उनले चलचित्रले मङ्गलबारसम्म रु २५ करोड तीन लाख र बुधबार रु दुई करोडको हाराहारीमा व्यापार गरेको बताए । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ ।निर्माता पौडेलले आजदेखि पूर्वबाट सुरु हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिए ।
यो चलचित्रले एकै दिन रु तीन करोड ८९ लाखको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी सो पाएको रेकर्डसमेत बनाएको छ । यसअगाडि चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’ ले रु २३ करोड ५० लाखको व्यापार गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: