प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउँछौंः अध्यक्ष दाहाल
२४ कार्तिक , स्वच्छखबर, हेटौँडा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताएका छन् ।
मकवानपुरको थाहा नगरपालिकामा शनिबार आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै नआउने भन्दै व्यवस्था परिवर्तनको सुरुवाती दिनदेखि नै आफूहरूले उक्त मुद्दा उठाउँदै आएको बताए ।
आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको र दोस्रो पटकमा उज्यालो नेपालको अवधारणा अनुरूप विद्युतभार कटौती हटाएको अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।
उनले मकवानपुर तथा थाहा नगरका केही विकास योजनालाई प्रभावकारी बनाइने उल्लेख गर्दै धेरै योजना माओवादीकै पहलमा अघि बढिरहेको बताए । उनले थानकोन–चित्लाङ–चन्द्रागिरी सडक गणेशमान राजमार्ग स्तरोन्नतिसहित कालोपत्रे गर्ने, फोदगाउँ वस्ती बचाउ कार्यक्रममा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्: