पृथ्वीराजमार्ग २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने,जथाभाबी ओभरटेक नगर्न आग्रह

३ मंसिर २०८१

३ मंसिर, स्वच्छखबर, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत देउराली सडक खण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।

निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन आगामी मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा गाडीको आवगमन बन्द गर्न लागिएको हो ।

दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ । राति १ बजेदेखि साढे १ बजेसम्म सडकमा गाडीको आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति साढे १ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द गरी निर्माणको काम गरिने पाण्डेले बताए ।

छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक गाडीबाहेक अरु गाडी पूर्ण रुपमा बन्द रहने छ । मुग्लिन पोखरा सडक खण्डअन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ६८ प्रतिशत प्रगति भएको छ ।