सहकारी ठगीमा जोडिएका सत्तापक्षका नेता जोगाउने काममा सरकार लागिपरेको माओवादीको आरोप

८ कार्तिक २०८१

८ कार्तिक, स्वच्छखबर, काठमाडौँ । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार सत्तापक्षका नेता जोगाउने काममा लागिपरेको आरोप लगाएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माओवादी उपाध्यक्ष अग्नि सापकोटाले विपक्षी दलका नेताहरूलाई छानीछानी मुद्दा लगाउने र सत्तापक्षका नेता जोगाउने काममा सरकार लागिपरेको आरोप लगाएका हुन् ।

उनले सहकारी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेल लगायतकाहरूलाई संरक्षण गरेर विपक्षीप्रति प्रतिशोध साँधिरहेको आरोप लगाए ।

उनले भने, ‘प्रचण्ड नेतृत्वको सरकारले देशको कानूनभन्दा माथि कोही छैनन् भन्ने सन्देश दिएको थियो । अहिलेको सरकार त विपक्षी दलका नेताहरूलाई छानीछानी मुद्दा लगाउने र आफ्नै नेताहरू जोगाउने काम गरिहरेको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका ऋषिकेश पोखरेललगायतहरूलाई संरक्षण गरेर खुला रूपमा राखेको छ ।’

उनले सुशासन र भ्रष्टाचारका नाममा तत्कालिन सरकारले थालेको काम छोडेर ओली नेतृत्वको सरकार ठीक विपरीत दिशामा गइरहेको उल्लेख गरे ।