बाढी पहिरोबाट २४ वटा राजमार्गमा ८ सय ५ ठाउँमा पहिरो,अझै पाँच राजमार्गका २१ ठाउँ अवरुद्ध
काठमाडौं । आगामी तीन दिनभित्र बीपी राजमार्गबाहेक देशका अरु सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दाबी गरेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले गएको असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरोले क्षतिग्रस्त बनाएका बीपीबाहेक अरु सबै राजमार्ग आउँदो सोमवारभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए । बीपी राजमार्ग पूर्णरुपमा सञ्चालन गर्न भने समय लाग्ने उनको भनाइ छ ।
सचिव शर्माका अनुसार बाढी पहिरोबाट ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८ सय ५ ठाउँमा पहिरो गएकोमा ७ सय ७४ वटा पहिरो हटाइएको जानकारी दिए । अझै पाँचवटा राजमार्गका २१ ठाउँमा पहिरोले अवरुद्ध भएकोले पहिरो पन्छाएर सञ्चालन गर्न प्रयास भइरहेको उनको भनाइ छ ।
कान्ति राजपथ भोलिदेखि नै सञ्चालनमा आउन सक्ने सम्भावना रहेको सचिव शर्माले बताए । यस्तै अरनिको राजमार्ग पनि तीन दिनभित्र सञ्चालनमा ल्याउन काम भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: