गणतन्त्रलाई थप बलियो बनाउन संविधान संशोधनः नेता निधि

१२ श्रावण २०८१

भक्तपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आमसहमतिका आधारमा संविधान संशोधन गरिने बताएका छन् ।

४२ औं बिपी स्मृति दिवसका अवसरमा शनिबार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ ले आयोजना गरेको बिपी स्मृति सभामा उनले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार सबैको सहमतिमा संविधान संशोधन अगाडि बढाइने बताए ।

नेता निधिले सत्ता गठबन्धनले सङ्घीयता, प्रदेश संरचना र समानुपातिक व्यवस्थालाई कमजोर बनाउँछन् भनेर चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरे ।

उनले संविधान संशोधनभन्दा पहिले प्रदेश कानुन बनाउन अत्यावश्यक रहेको बताए । उनले भने,“अहिले संविधान संशोधनभन्दा पनि प्रदेश कानुन बनाएर प्रदेशको अधिकारलाई पूर्णता दिनु अत्यावश्यक छ, प्रदेशको आफ्नै प्रहरी, कर्मचारी हुने संविधानमा व्यवस्था छ तर त्यसको कार्यान्वयन भएको छैन । यसर्थ संविधानअनुरूप कानुन बनाउने विषयलाई वर्तमान सत्ता गठबन्धनले पहिलो प्राथमिकतामा राख्नुपर्छ ।”

निधिले एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमतिअनुसार सरकारको निरन्तरता र कामकारबाही अगाडि बढ्ने बताए । उनले भने,“ दुई पार्टीबीचको सहमतिलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा पढेर सुनाउनुभएको छ । म दाबाका साथ भन्न चाहन्छु, यो सम्झौता २०८४ को चुनावसम्म कायम रहन्छ । सरकारको नेतृत्व पनि सोहीअनुसार हस्तान्तरण हुन्छ । बाहिर यो सरकार टिक्दैन, केही महिनाका लागि मात्रे हो भन्ने चर्चा र भ्रम छर्ने काम भइरहेको छ, यसलाई चिरेर अगाडि बढ्छौँ ।”