सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव बुझे आफन्तले

१२ श्रावण २०८१

काठमाडौँ ।  सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनकानुसार मृतक एक विदेशीको प्रक्रिया पुर्याएर शव व्यवस्थापन गरिनेछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव शवपरीक्षणपछि शुक्रबार र शनिबार आफन्तले शव बुझेका हुन् । शुक्रबार पाँचजना र आज १२ जनाले शव बुझेका हुन् ।

यही साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान उड्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ को मृत्यु भएको थियो । सोही दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य बाँच्न सफल भएका छन् ।

दुर्घटनामा घाइते क्याप्टेन शाक्यलाई तत्काल उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा ल्याई सघन उपचारकक्षमा उपचार गरिएको थियो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।