सौर्य एयरका क्याप्टेन शाक्यको स्वास्थ्यमा क्रमिक सुधार,माग पूरा नभएसम्म मृतकका परिवारले शव नबुझ्ने

१० श्रावण २०८१

काठमाडौं । सौर्य एयर जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको स्वास्थ्यमा सुधार आएको छ । काठमाडौंको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचारत शाक्यको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिएका छन् । उनले भने, ‘शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ।’

उनको टाउकोलगायत शरीरका विभिन्न भागको चोटमा बुधबार नै टाँका लगाइएको थियो । मेरुदण्डको भाँचिएका हड्डीको केही दिनपछि मात्र शल्यक्रिया गर्ने अस्पतालको योजना रहेको उनले जानकारी दिए । बुधबार काठमाडौँबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । पाइलट शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।

यसैबीच क्याप्टेन शाक्यले जहाज धावनमार्ग छाडेर सय फिटमाथि पुगेपछि नियन्त्रण गुमाएको बताएका छन् । सय फिटमाथि पुगेपछि उड्नुको सट्टा जहाज तल खस्न थालेको उनको भनाई थियो । दुर्घटनामा ज्यान गुमाएकाका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा आफन्तको शवको पर्खाइमा बसेका उनीहरूले एयरलाइन्सका प्रतिनिधिसँगको भेटमा विभिन्न माग राखेका हुन् । माग पुरा नभए सव नबुझ्ने उनीहरुले बताएका हुन् ।

मृतकका परिवारलाई रोजगारी, सन्तानको उच्च शिक्षा लगायतको व्यवस्था एयरलाइन्सले गर्नुपर्ने उनीहरूको माग छ । बिहीबारसम्म एयरलाइन्स कम्पनीबाट कोही पनि भेट्न नआएको भन्दै आक्रोश पोखेका थिए ।

बिहीबार दिउँसो शिक्षण अस्पताल पुगेका सौर्य एयरलाइन्सका व्यवस्थापक मुकेश खनालसँग परिवारले विभिन्न माग गरेका हुन् । खनालले परिवारलाई क्षतिपूर्ति बिमामार्फत गर्न एयरलाइन्सले प्रक्रिया अघि बढाएको जवाफ दिएका हुन् ।