६ उद्योगमा काटिएको लाइन जोड्ने प्राधिकरणको निर्णय,तीन महिनाभित्र बक्यौता तिर्नुपर्ने शर्त

८ श्रावण २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ६ वटा उद्योगमा काटिएको लाइन जोडिदिने भएको छ । मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ६ उद्योगमा काटिएको लाइन जोड्ने निर्णय गरेको हो ।

प्राधिकरणले उद्योगहरूलाई आगामी तीन महिनाभित्र वक्यौता तिर्न समय थपेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘तीन महिनाभित्र उद्योगीहरूको वक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत लाइन जोड्ने ।’

महसुल नबुझाएपछि प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटेको थियो ।

प्राधिकरण बोर्डले गरेको निर्णयमा सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यले भने फरक मत राखेका छन् । उनीहरुले विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने मत राखेका हुन् ।

डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महसुल वक्यौता असुल गर्ने सम्बन्धमा प्राधिकरण र उद्योगबीच विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरूमा काटिएको विद्युतको लाइन जोड्न निर्देशन दिएका थिए ।

तर प्राधिकरण संचालक समितिको लिखित निर्देशन नआएसम्म लाइन जोड्न नसकिने अडान कार्यकारी निर्देशक कुलमान घिसिङले लिएका थिए । त्यसपछि प्रधानमन्त्रीले विद्युत नियमन आयोगलाई लाइन जोड्न पत्र लेख्न लगाएका थिए ।