सांसद महतोले काम गराउन पाँच हजार घुस दिएको विषयमा अनुसन्धान गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

८ श्रावण २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एकजना सांसदले छोराको शैक्षिक प्रमाणपत्रको समकक्षताका लागि बिचौलिलाई घुस दिएको भन्ने विषयलाई अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले यसबारेमा आफूले सांसदसँग पनि कुरा गरेको र यो विषयमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको जानकारी दिएका हुन् ।

उनले भने, ‘यस विषयमा मैले माननीयज्यूसँग पनि कुरा गरेको छु र बिचौलियालाई चिनाइदिन आग्रह गरेको छु । र प्रहरीलाई पनि यस विषयमा अनुसन्धान गर्न आवश्यक निर्देशन पनि दिइसकेको छु । सरकारले यस विषयलाई अन्यन्तै गम्भीररुपमा लिएको छ।’

साउन ६ गतेको प्रतिनिधिसभा बैठकमा सांसद एवं पूर्वमन्त्री वीरेन्द्र महतोले शिक्षा मन्त्रालयअन्तर्गत रहेको सानोठिमी कार्यालयमा छोराको सर्टिपिकेट ’समकक्षता’ कायम गराउन आफूले ५ हजार रुपैयाँ घुस दिएको बताएका थिए ।