जापान र फिलिपिन्सवीच रक्षा सम्झौतामा हस्ताक्षर

२४ असार २०८१

२५ असार, स्वच्छ खबर, काठमाडौँ । जापान र फिलिपिन्सले सोमबार क्षेत्रीय पानीमा चीनको बढ्दो दाबीको बीचमा घनिष्ठ सुरक्षा सहयोगका लागि संयुक्त अभ्यासलाई सहज बनाउन द्विपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

जापानी विदेश मन्त्री कामिकावा योको र फिलिपिन्सका रक्षा सचिव गिल्बर्ट टिओडोरो जुनियरले राष्ट्रपति फर्डिनान्ड आर मार्कोस जुनियरको उपस्थितिमा मलाकान दरबारमा एक समारोहमा पारस्परिक पहुँच सम्झौता (आरएए) मा हस्ताक्षर गरेका हुन ।

नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गर्नुअघि राष्ट्रपति मार्कोसले कामिकावा र जापानी रक्षामन्त्री मिनोरु किहारासँग भेटवार्ता गरेका थिए ।

मार्कोसले उक्त सम्झौतालाई महत्त्वपूर्ण सम्झौता भन्दै कामिकावाले आरएएको हस्ताक्षर दुई देशका लागि द्विपक्षीय सम्बन्धलाई समृद्ध बनाउने ठूलो उपलब्धि भएको बताए ।

फिलिपिन्स र जापानका सम्बन्धित विधायीकी निकायहरूद्वारा अनुमोदन भएपछि लागु हुने यो सम्झौताले जापान सेल्फ डिफेन्स फोर्स र फिलिपिन्स सेनाबिच एक अर्काको देशमा संयुक्त अभ्यास र विपद् राहत कार्यका लागि कर्मचारी स्थानान्तरणमा प्रतिबन्धहरू कम गर्ने अपेक्षा गरिएको छ ।

गत नोभेम्बरमा जापानी प्रधानमन्त्री फुमियो किशिदा र मार्कोसले वार्ता सुरु गर्न सहमति गरेपछि यो सन्धि भएको हो ।

फिलिपिन्स समाचार एजेन्सीका अनुसार, फिलिपिन्सले संयुक्त राज्य अमेरिका र अस्ट्रेलियासँग यस्तै रक्षा सम्झौता गरेको छ भने फ्रान्ससँग अर्को रक्षा सम्झौता भइरहेको छ ।

त्यसैगरी, जापानले अस्ट्रेलिया र बेलायतसँग यस्तो सम्झौता गरेको छ भने अमेरिकासँग ‘स्टेट्स अफ फोर्सेज एग्रिमेन्ट’ गरेको छ ।