टी -२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सलाई २५ रनले हराउँदै बंगलादेश ‘सुपर-८’ नजिक

३२ जेष्ठ २०८१

शकिब अल हसनको अविजित अर्धशतकको मद्दतमा बंगलादेशले टि-२० विश्वकपको समूह डीको खेलमा नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको छ । तीन खेलमा बंगलादेशको यो दोस्रो जित हो र सुपर आठमा पुग्ने आशा जीवित राखेको छ ।

बंगलादेशले ४६ बलमा ९ चौका प्रहार गर्दै शकिबको अविजित ६४ रनको मद्दतमा २० ओभरमा पाँच विकेट गुमाएर १५९ रन बनाएको थियो । जवाफमा नेदरल्यान्ड्सले २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो । नेदरल्यान्ड्सका लागि सिब्रान्ड एङ्गेलब्रेचटले २२ बलमा सर्वाधिक ३३ रन बनाए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।

नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए । विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५ तथा माइकल लेभिटले १८ रन जोडे । आर्यन दत्तले १५ तथा म्याक्स ओ’डाउडले १२ रन बनाए ।

बंगलादेशका लागि होसेनले ३ तथा तास्किन अहमदले २ तथा मुस्तफिजुर रहमानले र तान्जीम शकीबले १-१ विकेट लिए ।

त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५९ रन जोडेको थियो । बंगलादेशका लागि शाकीब अल हसनले ४६ बलमा ९ चौका सहित सर्वाधिक ६४ रन जोडे । तान्जिद हसनले ३५ रन बनाए भने महमुदुल्लाहले २५ रन जोडे । जाकेर अलीले १४ रन बनाए ।

नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पल भ्यान मिकरनले २-२ तथा टिम प्रिंगलले १ विकेट लिए । जित पछि नेपाल समूहमा रहेको बंगलादेशको ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । नेदरल्याण्ड्सको ३ खेलमा २ अंक रहेको छ । सोही समूहमा नेपालको २ खेलमा १ अंक रहेको छ ।

बंगलादेशको जित पछि श्रीलंका एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाको ३ खेलमा १ अंक मात्र रहेको छ । दक्षिण अफ्रिका ३ खेलमा ६ अंक सहित सुपर ८ मा प्रवेश गरिसकेको छ ।