मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छः प्रवक्ता महत

काठमाडौँ । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन् ।
साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा सोमबार आयोजित ‘आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तक्र्रियामा उनले मुलुकको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि अनुशासनको खाँचो रहेको बताए ।
महतले कुन क्षेत्रमा कति बजेट विनियोजन गर्दा मुलुकको आर्थिक विकासमा सहयोग पुग्छ त्यसको बारेमा सरकारले पहिल्यै यकिन गर्न आवश्यक रहेको बताए ।
उनले भने, “तीन करोडभन्दा साना आयोजना केन्द्र सरकारले नराख्ने भनी आर्थिक कार्यविधि अनुमोदन गरे पनि वर्तमान सरकारले उक्त कार्यविधिलाई कार्यान्वयनमा लैजान सकेको छैन । ”
उनले आन्तरिक स्रोतबाट ९० अर्ब ऋण लिने बजेट वक्तव्यमा उल्लेख भएको जनाउँदै उक्त पैसा निजी क्षेत्रमा प्रवाह हुँदा बैंक तथा वित्तीय संस्थाको ब्याजसमेत बढ्ने उल्लेख गरे । “बैंक तथा वित्तीय संस्थाबाट सरकारले ऋण लिँदा निजी क्षेत्रमा उपलब्ध ऋणसमेत कम हुने भएकाले यसले अर्थतन्त्रलाई समेत प्रभाव पर्ने मैले देखेको छु”, उनले भने ।
अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार प्रा डा सूर्यबहादुर थापाले देशलाई सही दिशामा लैजानका लागि अहिलेको बजेटले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बजेटले नयाँ नीति तथा कार्यक्रमलाई अगाडि बढाएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्: