बाइडेनद्वारा युक्रेनका लागि साढे २२ करोड ५० लाख डलरको सुरक्षा सहायता घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार युक्रेनलाई थप २२ करोड ५० लाख डलरको सुरक्षा सहायता घोषणा गरेका छन् ।
पेरिसमा वार्ताका लागि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगको भेटमा उनले युक्रेनका लागि आफ्नो समर्थन दिने वाचा गर्दै उक्त घोषणा गरेका हुन् ।
उत्तरी फ्रान्सको प्रतीकात्मक डि–डे समारोहमा भाग लिएपछि बाइडेनले जेलेन्स्कीसँग भने, “अमेरिका तपाईँसँग उभिएको छ ।”
उनले कांग्रेसमार्फत नयाँ सहायता प्राप्त गर्न भएको ढिलाइप्रति पनि खेद व्यक्त गरे । “तपाईं झुक्नुभएको छैन, तपाईंले लडाइँ जारी राख्नुभयो जुन उल्लेखनीय छ”, उनले जेलेन्स्कीसँग भने ।
नयाँ प्याकेजमा हवाई रक्षा इन्टरसेप्टर, तोपखाना गोलाबारुद र अन्य ‘महत्त्वपूर्ण क्षमताहरू’ समावेश रहेको ह्वाइट हाउसले एक विज्ञप्तिमा बताएको छ ।
“युक्रेनका लागि अमेरिकी समर्थन अटुट छ भनेर राष्ट्रपतिले जोड दिनुभएको छ”, विज्ञप्तिमा उल्लेख छ । दुवै नेता इटालीमा आगामी जि७ शिखर सम्मेलनमा पुनः भेट्न सहमत भएको विज्ञप्तिमा जनाइएको छ ।
अर्को भिन्नै विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले सुरक्षा प्याकेजमा युक्रेनलाई सबैभन्दा आवश्यक युद्धक्षेत्रको आवश्यकताहरू पूरा गर्न हतियार प्रदान गरिने बताएको छ । यसमा स्टिङ्गर एन्टी–एयरक्राफ्ट मिसाइल, एचआइएमएआरएस सिस्टमका लागि गोलाबारुद र १५५ मिमी तथा १०५ मिमी तोपखाना राउन्ड रहेका छन् ।
जेलेन्स्कीले शुक्रबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि वार्ता गर्ने तयारी गरेका थिए । म्याक्रोनले बिहीबार युक्रेनलाई मिराज २००० लडाकू विमानहरू हस्तान्तरण गर्ने र नयाँ सैन्य सहयोगको हिस्सास्वरूप युक्रेनी पाइलटहरूलाई तालिम दिने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्: