बजेटमाथि आइतवारदेखि छलफल शुरु हुने,२३ गते अर्थमन्त्रीले जवाफ दिने
सरकारले सङ्घीय संसद्को संयुक्त सभामा पेस गरेको आउँदो आर्थिक वर्षको बजेटमाथि आइतवारदेखि छलफल शुरु हुने भएको छ । सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक आइतवार बिहान ११ बजेका लागि बोलाउनुभएको छ ।
अर्थमन्त्री वर्षमान पुनले हिजो सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको थियो । लगत्तै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा उहाँले बजेट पेस गर्नुभयो । प्रतिनिधिसभामा अर्थमन्त्री पुनले विभिन्न राजस्व, कर शुल्क र महसुलको दस्तुर निर्धारणसम्बन्धी व्यवस्था रहेको आर्थिक विधेयक २०८१ पनि पेस गर्नुभयो । प्रतिनिधिसभा र राष्ट्रिय सभामा तीन दिन जेठ २०, २१ र २२ सम्म बजेटमाथि छलफल हुनेछ ।
प्रतिनिधिसभामा जेठ २३ मा अर्थमन्त्रीले छलफलबाट उठेका विषयमा जवाफ दिनुहुनेछ । त्यसअघि जेठ २२ मा अर्थमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिनुहुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बजेटमा छलफलका लागि आइतवार दिउँसो सवा १ बजे बैठक बोलाउनुभएको छ ।
सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । साउन १ मा नयाँ आर्थिक वर्षसँगै नयाँ बजेट कार्यान्वयन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्: