देवनगर सबस्टेसन र गोन्द्राङ–देवनगर ३३ केभी प्रसारणलाइन संचालनमा
काठमाडौँ । चितवनको देवनगर सबस्टेशन शनिबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी क्षमताको सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन उद्घाटन गरिएको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार संयुक्त रुपमा सबस्टेसन तथा प्रसारण लाइनको उद्घाटन गरेको उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा प्रमुख दाहालले विद्युत आपूर्तिमा रहेको न्यू भोल्टेजका कारण उद्योग व्यवसाय नचलेको, पङ्खा नचलेको भन्ने उपभोक्ताबाट आउने गुनासो देवनगर सबस्टेसन सञ्चालनमा आएपछि सम्बोधन हुने बताइन् ।
चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय बासिन्दालगायतको साथ र सहयोगले लाइन तथा सबस्टेसन निर्माण भएको उल्लेख गर्दै प्रमुख दाहालले स्थानीयको मागबमोजिम केही क्षेत्रमा नाङ्गो तार बदलेर कालो तार राख्ने र तारलाई भूमिगत गर्ने कार्य गर्न आग्रह गरिन् । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सबस्टेसन सञ्लनमा आएसँगै महानगरपालिकाको पश्चिमी भेगको विकासका लागि कोशेढुङ्गा साबित हुने बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्रजङ्ग थापाले सबस्टेसन निर्माणबाट त्यस क्षेत्रबाट आउने विद्युत् आपूर्तिको गुनासो सम्बोधन र उद्योग कलकारखाना स्थापनाका लागि आधार तयार भएको बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आगामी ५० वर्षमा महानगरपालिकामा हुने विद्युत मागमा प्रक्षेपण गरी २४ सै घण्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि काम अगाडि बढाइसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्: