सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको निधन

आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो जीवित बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको प्रत्यारोपण गर्ने अमेरिकी अस्पतालले बताएको छ ।
“श्री रिक स्लेम्यानको आकस्मिक निधनले मास जनरललाई गहिरो दुःख लागेको छ, उहाँको निधन हालैको प्रत्यारोपणले भएको हो भन्ने हामीसँग कुनै सङ्केत छैन”, बोस्टन अस्पतालले विज्ञप्तिमा भनेको छ ।
विश्वमा पहिलो पटक मार्चमा म्यासाच्युसेट्सको जनरल अस्पतालका सर्जनहरूले आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । सो समयमा उनी ६२ वर्षका थिए र अन्तिम चरणको मिर्गौलाको रोगबाट पीडित थिए ।
“स्लेम्यानलाई विश्वभरमा असङ्ख्य प्रत्यारोपण रोगीहरूका लागि सधैँ आशाको किरणका रूपमा हेरिने छ र जेनोट्रान्सप्लान्टेसनको क्षेत्रलाई अगाडि बढाउने उहाँको विश्वास र इच्छाप्रति हामी अत्यन्त आभारी छौँ”, अस्पतालको विज्ञप्तिमा भनिएको छ ।
विश्वभर अङ्गको अभाव पुरानो समस्या हो र मास जनरलले मार्चमा मिर्गौला प्रत्यारोपणका लागि उसको प्रतीक्षा सूचीमा एक हजार चार सयभन्दा बढी बिरामी रहेको बताएको थियो । अस्पतालका अनुसार प्रत्यारोपणका लागि प्रयोग गरिने सुँगुरको मिर्गौला म्यासाच्युसेट्स बायोटेक कम्पनी इजेनेसिसले प्रदान गरेको थियो र हानिकारक सुँगुरको जीन हटाउन र केही मानव जीनलाई जोड्न यसलाई परिमार्जित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: