राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा छः अर्थमन्त्री

१२ माघ २०८०

१२ माघ , स्वच्छखबर, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेकोले सरकारलाई दबाब बढेकोे बताएका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको बताएका हुन् । अर्थमन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए ।

उनले भने, ‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छौं । राजश्व केही वृद्धि भएको छ । तर, हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन ।’

अर्थमन्त्री महतले सरकारले सोचेअनुुसारको राजस्व वृद्धि हुन नसक्नुमा राजश्व संरचनामा आइरहेको डिजिटल परिवर्तनलाई प्रमुख कारण औंल्याएका छन् । उनले भने,‘राजश्व संरचनामा परिवर्तन आइरहेको छ । डिजिटल युगमा संसारै अगाडि बढेको छ, हामी पछि पछ्याउँदै छौं । यो डिजिटलाइजेशनको सँगसँगै अब ट्रान्जेक्शन व्यवसाय गर्ने शैली परिवर्तन भइसकेको छ । हामीले पनि आफ्नो शैलीलाई, तौरतरिकालाई त्यही अनुसार नढाल्ने हो भने हामी यो सबैखाले डिजिटलबेस व्यवसाय छ, त्यसलाई क्याप्चर गर्न सक्दैनौँ । त्यस्तै भन्सार कार्यालयले पनि आफूलाई एकदमै अपडेट गरेर लैजानुपर्नेछ ।’

उनले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने भन्दै आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए ।

साथै उनले विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको बताए । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजश्व उठेको उनको भनाई थियो ।