अङ्ग्रेजी नयाँ वर्षमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल हुने, १२ वटा टोली सहभागी हुने अनुमान

१९ मंसीर स्वच्छखबर, कास्की । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता’ सञ्चालनको तयारी गरिएको छ ।
स्थानीय स्तरबाट देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पोखरा महानगरपालिका भलिबल सङ्घको आयोजनामा आगामी पुस १४ देखि १६ गतेसम्म फेवाताल किनार बसुन्धरा पार्कमा प्रतियोगिता हुँदैछ ।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्दै आएको सडक महोत्सवको २५औँ संस्करणको आकर्षणका रुपमा प्रतियोगिता हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा १२ वटा टोली सहभागी हुने आयोजकको अनुमान छ ।
प्रतियोगितामा पोखराबाहिरका क्लब पनि सहभागी हुन पाउने र टोलीमा दुईजनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाइने सङ्घका अध्यक्ष एवं खेल संयोजक रामबहादुर लामिछानेले बताए ।
उनका अनुसार प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ र उपविजेताले ७७ हजार सात सय ७७ सहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
यसैगरी ‘बेस्ट सेटर’, ‘बेस्ट स्पाइकर’, ‘बेस्ट सर्भर’, ‘बेस्ट ब्लकर’, ‘बेस्ट डिफेन्डर’ले जनही तीन हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजारसहित कप र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: