काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुदैं, खर्चिलो र भड्किलो नबनाउन जिसस प्रमुख गौतमको आग्रह

२४ भाद्र २०८०

२४ भाद्र, स्वच्छखबर, काभ्रे । हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज नजिएको छ । यस पर्वका अवसरमा देशैभर विभिन्न क्षेत्रमा तिजको कार्यक्रमहरु भईरहेको छ । यसैबिच, काभ्रेमा पनि वृहत तिज विशेष कार्यक्रम हुने भएको छ । ‘मौलिक संस्कृति जोगाऔं भड्किलो विकृतिलाई रोकौं’ भन्ने नाराका साथ जिल्ला समन्वय समिति काभ्रे र सञ्चारिका समूह काभ्रेको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

हरितालिका तिजको पावन अवसरमा शुभकामाना आदान–प्रदान गर्दै यस पटक जिल्ला स्थित सम्पूर्ण निजी र सरकारी संघरसंस्था तथा कार्यालयका महिला कर्मचारीहरुको सहभागितामा तिज विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले जानकारी दिए ।

आफ्ना दुःख, पिर व्यथालाई भुलेर खुशी साटासाट गर्दै नेपाली महिलाहरुले मनाउँदै आएको तिज पर्वलाई खर्चिलो र भड्किलो नबनाउन उनले आग्रह गरे । तिज विशेष कार्यक्रम यहीँ भदौ २६ गते बनेपा स्थित स्मार्ट पार्टी प्यालेसमा तिज विशेष कार्यक्रम हुनेछ । जिल्ला स्थित सम्पूर्ण संघरसंस्था तथा कार्यालयका कर्मचारी एवं सम्पूर्ण महिलाहरुलाई कार्यक्रममा सहभागिताका लागि समन्वय प्रमुख गौतमको अनुरोध छ।