महेन्द्र यादवमाथिको आक्रमणको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
२१ भाद्र, स्वच्छखबर, काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको घटनाबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरूले यादवमाथिको घटनाबारे गम्भीर ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख घिमिरेले यादवमाथिको आक्रमणको घटना र कान्ति बाल अस्पतालमा उपचार अभाव ज्यान गुमाएकी ५ वर्षीया बालिकाबारे सम्पूर्ण जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।
उनले भने,’आजको आकस्मिक, शून्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुरा छन् । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु।’
बैठकमा सांसदहरुले यी दुवै अपराधिक घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: